श्रीमतीसहित परिवारका ६ सदस्य गुमाएका अवधेशले बुझे शव
हेटौँडा । बिहीबार मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका सर्लाहीका अवधेश यादवले शुक्रबार साँझ आफन्तको शव बुझेका छन् । परिवारसहित छठ मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर जाने तयारीमा रहेका अवधेश गाडीमा ठाउँ नपुगेपछि फर्किएका थिए । गाडीमा चढेका उनको परिवारका सदस्यको दुर्घटनामा परी निधन भएको थियो । सुन्दरपुरको एउटै टोलका बासिन्दाले गाडी रिजर्भ गरेका थिए । १४ सिट क्षमताको सो गाडीमा बालबालिकासहित २० जना सवार थिए । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकको शव यसअघि नै परिवारले बुझेर लगिसकेको थियो । बाँकी १३ जनाको शव शुक्रबार पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् ।
















