छठ पर्व मनाउन लामिछाने आज जनकपुरधाम जादै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम जादै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन जनकपुरधाम जान लागेका हुन् । रास्वपा मधेश प्रदेश कार्यालयले जारी गरेको सूचना तथा जानकारी पत्रअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापतिबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । दिउँसो २ बजेदेखि ४ बजेसम्म सोही स्थानमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुने तालिका छ । साँझ ५ बजे छठ पर्वको पूजा खरना तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जनकपुरधामसहित आसपासका विभिन्न धार्मिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिरलगायतका धार्मिक स्थल पुग्ने कार्यतालिका छ । आइतबार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा अर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् । त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण तथा छठ पर्वको विधि अनुष्ठानमा सहभागी भएपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट बिदाइ तथा प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ । मधेश प्रदेशका महामन्त्री मानिकुमार साहद्वारा हस्ताक्षरित सूचनामा पार्टीका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक समन्वय, सहकार्य र उपस्थितिका लागि आग्रह गरिएको छ।

















