आज एनपीएलमा लुम्बिनी र विराटनगर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीका लागि आजको खेल शीर्ष स्थानको दौडमा अघि बढ्ने अवसरसमेत हुनेछ । लुम्बिनीले हालसम्म ६ खेल खेलेकोमा चार खेलमा जित निकालेको छ भने एक खेलमा पराजय बेहोरेको छ ।
अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरका लागि भने आजको खेल निकै महत्त्वपूर्ण छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगरलाई जित आवश्यक छ । त्यसैले टोली आज जितकै लक्ष्यसहित मैदानमा उत्रनेछ । विराटनगरले अहिलेसम्म खेलेका ६ खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको छ । उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ भने काठमाडौं गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग हार बेहोरेको छ ।

















