ट्रेड युनियन खारेज विवादको रिट संवैधानिक इजलासमा
काठमाडौं । ट्रेड युनियन खारेज विवादमा दायर भएको रिटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाइएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासमा मंगलबार मंसिर १ गते भएको सुनुवाइपछि संवैधानिक इजलासमा पठाउन आदेश भएको हो । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालसमेतले रिट दायर गरेका थिए । ट्रेड युनियन खारेज विवादलाई लिएर संवैधानिक इजलासमा यसअघि पनि एउटा रिट विचाराधीन अवस्थामा छ ।
सरकारले गत वैशाख २३ मा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गर्दै एकसाथ १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको थियो । अब यी सबै विवादको टुंगो संवैधानिक इजलासबाट एकसाथ लाग्ने छ । अध्यादेश अनुसार, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम, नेपाल र स्वास्थ्य चार ट्रेड युनियनको दर्ता खारेजी भएको थियो ।


















