माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच सम्झौता भएको छ । सम्झौतासँगै दुई संस्थाबीच विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ । यस सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । त्यसैगरी, नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले सहज रूपमा नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यसबाट प्राप्त आम्दानीले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग पुर्याएको छ । साथै, बचत तथा लगानीको क्षमता अभिवृद्धि गर्दै आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ । बैंकले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ । यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम तथा हिमालदेखि पहाड र तराईसम्म आफ्नो सेवा विस्तार गरेको छ । बैंकका अनुसार हाल १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट बैंकिङ सेवा प्रदान हुँदै आएको छ । साथै, १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।


















