विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र थिएन : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभएको बताएका छन् । विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो। त्यसैले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता हो। उनले थप लेखेका छन्– ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्षका रूपमा मैले हस्ताक्षर गरेका थियौँ।

यो केवल दुई पक्षबिचको सम्झौता थिएन, बरु नेपाली जनताको त्याग, बलिदान, सङ्घर्ष र परिवर्तनको आकाङ्क्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्ताबेज थियो। विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको उनले स्मरण गरेका छन् । नेपालको राजनीतिक इतिहासमा यो सम्झौता युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्त्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको उनले बताए । शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ उनले भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *