गरिमा रोड रेस २०८३ सम्पन्न, खुलातर्फ तिर्थ र राज्य, कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने मूल नाराका साथ बैंकको १८औँ वार्षिकोत्सवबाट सुरु गरिएको यस प्रतियोगिताको तेस्रो संस्करणमा १ हजार ४ सयभन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर गरी महिला तथा पुरुषका कुल ४ विधामा प्रतिस्पर्धा गराइएको थियो। १० किलोमिटर खुला विधामा पुरुषतर्फ तिर्थकुमार पुन ३१ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम भए। त्यसैगरी, महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। कर्पोरेटतर्फको ५ किलोमिटर दौडमा पुरुषतर्फ इश्वर बुढाथोकी १९ मिनेट २८ सेकेन्डमा दौड पूरा गरी विजेता बने भने महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान सुरक्षित गरिन् । बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको १० कि.मी. खुला दौड नारायणगोपाल चोक, हात्तीगौँडा हुँदै बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडि पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै आई समापन भएको थियो।
यस्तै, ५ कि मी कर्पोरेट दौड बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमा आई टुङ्गिएको थियो। प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। १० कि.मी. खुला विधामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः रु. ५० हजार, रु. ३५ हजार, रु. २० हजार, रु. १५ हजार र रु. १० हजार नगद पुरस्कार प्रदान गरियो। यस्तै, ५ कि.मी. कर्पोरेट विधातर्फ प्रथमदेखि पाँचौँ स्थान हासिल गर्नेलाई क्रमशः रु. ३० हजार, रु. २० हजार, रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार नगद पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न निकायका विशिष्ट व्यक्तित्व, स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। बैंकले आगामी मंसिर ७ गते सोमबार पर्ने आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित अन्य संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कार्यक्रमहरू समेत आयोजना गर्न लागेको जानकारी दिएको छ।


















