वर्षा हुँदा किसान खुसी   

बलेवा,  बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ थालेका छन् ।    
    
जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी रहेको छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखामा रोपाइँ हुनसकेको थिएन् । सुख्खा ठाउँमा भल छोपेर रोपाइ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए ।    
    
“वर्षा सुरु भयो, अब केही दिन पानी पर्छ भनेको रेडियोमा सुनेको छु”, जैमिनी नगरपालिका–९ का किसान टङ्कप्रसाद शर्माले भन्नुभयोे, “अब त खडेरीले नसताउला भन्ने लागेको छ ।” यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताउनुभयो ।    
    
असारको अन्तिम सातायता साउनको ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइ गरेका किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए ।    
    
असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्ने गरेका थिए । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छभने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । डाँडाकाँडा र लेक रहेको क्षेत्रमा पानी परेपछि किसानलाई भ्याइनभ्याइ छ ।   

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *