समानुपातिक उम्मेदवारको सूची बुझाएपछिको प्रक्रिया के ?
काठमाडौं । समानुपातिक प्रणालीतर्फ सिट पाएका दलहरूले प्रतिनिधिसभाका लागि बन्द सूचीमा रहेका उम्मेदवारबाट नाम सिफारिस गर्न पाएको समय सकिएको छ ।
निर्वाचन आयोगका अनुसार तोकिएको समयमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ सिट पाएका सात वटासहित प्रदेशसभामा मात्र सिट पाएका अन्य सात वटा राजनीतिक दलले बन्द सूचीबाट सदस्य बनाउन चाहेका व्यक्तिहरूको नाम सिफारिस गरेका छन् ।
दलहरूले सदस्यहरूको नाम सिफारिस गरेपछि अब त्यसलाई निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले महिला तथा अन्य समूहको समावेशी प्रतिनिधित्व भएरनभएको हेर्नेछ ।
त्यसरी हेर्दा कुनै दलले पठाएको सूचीमा समावेशी प्रतिनिधित्व नभएको पाइमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याई त्यसैअनुसारको प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी दुई दिनभित्र पेस गर्न लेखी पठाउने व्यवस्था छ ।
आयोगले आगामी सोमवारसम्ममा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको भएपनि केही दिन पछि सर्ने बताइएको छ ।