देशमा राजनीतिक स्टन्ट गर्न प्रचण्ड र रविबीच होडबाजी
काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलगायतका दलसँग नयाँ गठबन्धन गरेर नयाँ सरकार बनाएका छन् ।
सरकार बनेको ११ दिन बितिसक्दा पनि जनता अहिलेको सरकारसँग ढुक्क हुन सकेका छैनन् । स्वयं एमाले अध्यक्ष केपी ओली पनि यो सरकारले केही गर्ला भन्ने सोचेका छैनन् । त्यही भएर केही दिनअघि आयोजित एक कार्यक्रममा ओलीले राजनीतिमा फउल खेले रातो कार्ड पाउने बताएका थिए । उनले नेपाली कांग्रेसलाई लक्षित गरेर भने पनि प्रचण्डलाई पनि चेतावनी दिएको चर्चा राजनीतिमा चलेको छ ।
नयाँ सरकारमा अहिले कि त प्रचण्ड, कि त रवि लामिछानेको मात्र चर्चा छ । हुन त आठजना मन्त्री छन् । चारजनाले जिम्मेवारी पाएका छैनन् । प्रचण्डले प्रधानमन्त्रीसहित १८ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री छन् । विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री छन् । अन्य मन्त्रीको चर्चा त्यति छैन । प्रचण्ड र रविबीच राजनीतिक स्टन्ट गर्ने होडबाजी चलेको छ ।
केही दिनअघि लामिछाने आफ्नो अधिकार क्षेत्रमा नपर्ने राहदानी विभागको अनुगमनमा पुगे । राहदानी विभाग परराष्ट्र मन्त्रालयमातहत पर्छ । तर गृहमन्त्री लामिछाने चर्चाकै पाउनकै लागि राहदानी विभाग पुगे । उनी जसको व्यापक विरोध भयो । उनले सेवाग्राहीलाई लामो लाइनमा नराख्न, छिटो सेवा दिन चेतावनी दिए । लगत्तै प्रधानमन्त्री प्रचण्डले पनि राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र जस्ता सेवामा सहजता ल्याउन निर्देशन दिए ।
उनले मंगलबार सचिवहरुलाई बोलाएर सरकारी सेवामा सहजता नभए, अल्छी गरे कारबाही गर्ने चेतावनी दिए । तर, प्रचण्डले सचिवहरुलाई चेतावनी दिएको आधा घन्टा नबित्दै राहदानी विभागको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । विभागले सिस्टम बिग्रेकाले सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्पष्ट पारेको छ ।
जनतालाई सरकारी सेवा सहज र सरल बनाउनुभन्दा पनि स्टन्टकै लागि प्रधानमन्त्री र गृहमन्त्रीबीच होडबाजी चलेको यो घटनाले पनि पुष्टि गर्छ । प्रचण्ड यो आफ्नो अन्तिम अवसर भएको भन्दै चर्चा कमाउन लालायित छन् । रवि पहिलोपल्ट राजकीय सत्तामा पुगेकाले केही गर्नैपर्नै दबाब छ । त्यही भएर दुवै चर्चा कमाउनकै लागि होडबाजीमा लागेका हुन् ।