अमेरिकी आकाशमा शंकास्पद चिनियाँ जासुसी बेलुन

वासिङ्टन डीसी । उत्तर अमेरिकी आकाशमा उडिरहेको एउटा शंकास्पद चिनियाँ जासुसी बेलुनको केही दिनदेखि अनुगमन गरिरहेको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।

रक्षामन्त्रालयमा भएको बैठकमा अधिकारीहरूले निकै उचाइमा उडिरहेको उक्त जासुसी बेलुन चीनको भएकोमा आफूहरू विश्वस्त रहेको बताएका थिए । यसबारेमा पेन्टागनले राष्ट्रपति जो बाइडनलाई जानकारी गराइसकेको छ ।

सेनाका वरिष्ठ अधिकारीहरू सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल सो बलुन गोली हानेर नखसाल्ने निर्णयमा पुगेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । परमाणु क्षेप्यास्त्र भण्डारण स्थल रहेको पश्चिमी राज्य मोन्टानाको विलिङ्ग्स नगरमाथिको आकाशमा यही बुधवार पहिलो पटक उक्त बेलुन देखिएको थियो ।

सम्भावित सुरक्षा खतराबारे परामर्श गर्न बुधबार नै रक्षामन्त्री लोयड अस्टिन, रक्षा प्रमुख जनरल मार्क मिलीलगायतका सेनाका उच्च अधिकारीहरूको बैठक बसेको थियो । बलुनभित्र कुनै घातक पदार्थ हुन सक्ने र त्यसलाई गोली हानी खसाल्दा झन् खतरा हुन सक्ने भन्दै त्यसलाई तत्काल नखसाल्न सेनाका अधिकारीहरूले सुझाव दिएका थिए ।

उक्त बेलुन व्यवयायिक विमानहरूले प्रयोग गर्ने उचाइभन्दा निकै माथि उडिरहेकाले यसले नागरिक उड्डयनमा कुनै खतरा नरहेको जनाइएको छ ।

अमेरिकी अधिकारीहरूले यस विषयमा वासिङ्टन डीसी र बेइजिङमा चिनियाँ अधिकारीहरूसँग कुरा गरिसकेको जनाइएको छ ।

मोन्टाना राज्यको आकाशमा देखा पर्नु अघि उक्त बेलुन अलास्का राज्यको एउटा टापु र क्यानाडाको आकाश हुँदै उडेको अधिकारीहरूले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *