रविको संकेतमा गठबन्धन चाँडै टुट्दैछ

काठमाडौं । सत्ता साझेदार दलभित्र राष्ट्रपतिलाई लिएर पछिल्लो समय मतभेद बढेको छ । एमाले अध्यक्ष केपी ओलीले सरकार गठनका वेला भएको सहमतिअनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउने बताउँदै आएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने मत राखिरहेका छन् । यही कारण अहिले प्रचण्ड र ओलीबीच अविश्वास बढ्दै गएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठकमा भावी राष्ट्रपतिको विषयमा देखिएको मतभेदलाई लिएर प्रश्न उठेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धनभित्र राष्ट्रपतिको विषयमा देखिएको मतान्तरबारे प्रश्न उठाएका थिए । संयन्त्रका संयोजक रहेका एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित रहेको बैठकमा लामिछानेले गठबन्धनभित्र गुम्दै गरेको विश्वासमाथि प्रश्न उठाएका हुन् ।

लामिछानेलाई ओली, प्रचण्ड र लिङ्देन तीनैजनाले पुनः सरकारमा सहभागी हुनुपर्ने आग्रह गरेपछि जवाफमा लामिछानेले गठबन्धनको भविष्य र आगामी दिशामाथि प्रश्न उठाएका हुन् । आफूहरूलाई तत्काल सरकारमा फर्किन हतार नभएको भन्दै गठबन्धनको दिशा प्रस्ट भएपछि यस विषयमा निर्णय गर्ने लामिछानेको जवाफ थियो । संयन्त्रको बैठकपछि लामिछानेले अन्य कुनै विवाद नभए पनि प्रचण्ड र ओलीबीच अविश्वास बढ्दै गएको र यस्तो अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आउने बताएका थिए ।

रास्वपा अहिले सरकारमा छैन । तर उसले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छैन । आगामी वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनबाट विजयी भएर आएपछि लामिछाने पुनः उपप्रधानसहित गृहमन्त्री बन्ने दाउमा छन् । नागरिकता विवाद सल्टिए पनि उनी दोहोरो राहदानी कसुरमा फस्ने सम्भावना प्रबल छ । नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयले उनको दुईवटा राहदानीबारे अनुसन्धान अघि बढाएको छ । यदि उपनिर्वाचनअघि नै यो मुद्दा अदालतमा पुगेमा रविका लागि उपनिर्वाचन मृगतृष्णा मात्र सावित हुनेछ ।
रास्वपाले पहिले नै चितवन २ मा लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यदि लामिछाने राहदानी प्रकरणमा उम्मेदवार दिनबाट वञ्चित भएमा सो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने स्रोतले बतायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *