पुस १० गते एमालेसँग भएको सहमति नमान्ने प्रस्ट अडानमा माओवादी
काठमाडौं । माओवादी केन्द्रले पुस १० गते अर्थात् क्रिसमस डेको दिन एमालेसँग भएको सहमति नमान्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी ओलीले निरन्तर पुस १० गते भएको सहमति स्मरण गराउँदै आए पनि माओवादी नेताहरूले त्यसदिन भएको सहमति नमान्ने धारणा सार्वजनिक गरिरहेका छन् ।
बिहीबार बालुवाटारमा भएको भेटवार्तामा पनि ओलीले प्रचण्डलाई एमालेसँग भएको सहमति स्मरण गराएका थिए । तर प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका थिए । माओवादी नेताहरूले त पुस १० गते भएको सहमति भोलिपल्टै उल्लंघन भएको बताउन थालेका छन् । पुस १० गते एमालेलगायत दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए । माओवादीले प्रधानमन्त्री लिएपछि एमालेले राष्ट्रपति, सभामुख लिने सहमति भएको बताइएको थियो । तर त्यसदिनको सहमतिमा माओवादीले प्रधानमन्त्रीसँगै गृहमन्त्री पनि लिने भनिए पनि पछि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा पुगेपछि माओवादीले त्यसदिनको सहमति भाँडिएको बताउन थालेको छ ।
माओवादीका नेताहरू कृष्णबहादुर महरा, शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेलले पुस १० गतेको सहमति आफूहरूलाई थाहा नभएको बताएका छन् । माओवादी प्रवक्ता महराले पुस १० गतेको सहमतिका विषयमा आफूहरूलाई थाहा नभएको बताएका छन् । माओवादी उपमहासचिव बस्नेत बस्नेत पुस १० को मौखिक सहमति ११ पुसमै परिमार्जन भइसकेको दाबी गर्छन् । ‘पुस १० गतेको सहमति ११ गते नै परिमार्जन भइसकेको छ । सुरुमा गृह मन्त्रालय माओवादीले लिने सहमति थियो, पुस ११ गते माओवादीको भागमा गृह मन्त्रालय परेन,’ उनको भनाइ छ, ‘तर, चरणबद्ध छलफल जारी रहेकाले निर्णय छिट्टै सार्वजनिक हुन्छ ।’
माओवादी प्रवक्ता महराले त राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस नहुने बताएका छन् । उनले माओवादीले साझा व्यक्तिको खोजी गरी रहेको स्पष्ट पारेका छन् । ‘हाम्रो पार्टीको धारणा राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुनुहुँदैन भन्ने हो। सबैको सहमतिमा राष्ट्रिय सहमति कायम हुनुपर्छ,’ शुक्रबार आयोजित एक कार्यक्रममा महराले भने, ‘प्रधानमन्त्रीको जसरी विश्वासको मत लिने क्रममा राष्ट्रिय सहमति भयो राष्ट्रपतिमा पनि सबैको सहमति खोजेका छौँ ।’