मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो- दुश्मनको हरेक चालमा हाम्रो नजर छ
काठमाडौँ । उत्तर कोरियाले हालै गरेको ह्वासोङ-१५ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाका अनुसार उसले यो परीक्षण अचानक प्रक्षेपण अभ्यासमा गरेको हो । परीक्षणको उद्देश्य शत्रु शक्तिको सामना गर्दै देशको क्षमता प्रदर्शन गर्नु रहेको उत्तर कोरियाले जनाएको छ ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आगामी सैन्य अभ्यासलाई कडा जवाफ दिने चेतावनी दिएपछि उत्तर कोरियाले शनिबार दिउँसो जापानको पश्चिमी तटबाट समुद्रमा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।
आइतबार एक छुट्टै वक्तव्यमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले मिसाइल परीक्षणको पुष्टि गर्दै अमेरिकालाई सावधान रहन चेतावनी दिएकी छन् । यो जोङले अमेरिकाले उत्तर कोरियाको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषदलाई गलत जानकारी दिन खोजिरहेको आरोप लगाउदै यो शत्रुतापूर्ण नीति भन्दा कम नभएको बताएकी छन् ।
उनले उत्तर कोरियाले दुश्मनको हरेक चालमा नजर राखिरहेको उल्लेख गर्दै उचित जवाफ फर्काउने चेतावनी दिएकी छन् ।
उनले भनिन्- ‘शत्रुको हरेक चालमाथि नजर राख्छौँ र उसको हरेक शत्रु चालको विरुद्धमा उपयुक्त र अत्यन्तै कडा र भारी प्रतिशोध लिनेछौँ भनी म चेतावनी दिन्छु ।’
दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले शनिबार उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएका थिए । उत्तर कोरियाको यो कदम अर्को हप्ता वाशिंगटनमा हुने संयुक्त राज्य अमेरिका-दक्षिण कोरियाको संयुक्त अभ्यास अघि आएको हो ।