फरार एमाले सांसद लक्ष्मी महतोले राष्ट्रपति निर्वाचनमा भोट हाल्न पाउने
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको छ । संघीय संसदका तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी ८८१ जनाको नाम नामावलीमा उल्लेख छ ।
तीन संघीय सांसद (रवि लामिछाने, अरुण चौधरी र टेकबहादुर गुरुङ) को नाम छैन । लामिछानेको सांसद पद खारेज भएको छ । चौधरी पनि केही दिनअघि निलम्बनमा परेका थिए । तर उनलाई राष्ट्रपतिले आममाफी दिइसकेकी छन् । गुरुङ कालोसूचीमा परेकाले उनको सांसद पद निलम्बनमा परेको छ ।
फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम मतदाता सूचीमा छ । महतो सशस्त्र प्रहरी थमन विकको हत्यामा सजाय सुनाइएका फरार अभियुक्त हुन् । तर, प्रहरीको फरार सूचीमा रहे पनि उनको नाम निर्वाचन आयोगले मतदाताको सूचीमा राख्नुलाई अर्थपूर्ण लिइएको छ । अहिले निर्वाचन आयोग एमालेको कब्जामा छ । सोही कारण एमाले सांसद कोइरीको नाम मतदाता सूचीमा राखिएको बताइन्छ ।
महतोलाई प्रहरीले तीव्र खोजिरहेको छ । तर अहिलेसम्म पक्राउ गर्न सकेको छैन । कोइरी भारतमा लुकेको बताइन्छ।