ओलीलाई जन्मदिनको दिन प्रचण्डको उपहार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७२ औं जन्मदिन मनाए । अघिल्ला जन्मदिनमा जस्तै यसपटक पनि उनको जन्मदिनमा राजनीतिक हलचल हुने अर्को संकेत देखा परेको छ । ७० औं जन्मदिन मनाइरहदा सर्वोच्च अदालतले संसद विघटन पुनस्थार्पना गरेसँगै निरिह बनेका ओलीलाई ७२ औं जन्मदिनमा भने वर्तमान सत्ता समिकरणको फेरबदलको उपहार दिने अन्तिम तयारीमा दलहरु जुटेका छन् ।
बिहीबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ७२ औं जन्मदिन । अन्य राजनीतिक दलका शीर्ष नेताहरुले भन्दा ओलीले विशेष महत्व दिएर पछिल्लो समय जन्मदिन मनाउँदै आएका छन् । यस अघिका जन्मदिनलाई नै हेर्ने हो भने कहिले जन्मघर तेह्रथुमको अठराई पुगेर मनाए भने कहिले बा लाई बालकोटमा बोलाएर सांगितिक कार्याक्रमसहित जन्मदिन मनाउने गरेका थिए ।
ओलीको जन्मदिनमा राजनीतिक वृत्तमा पनि केहि न केहि घटनाक्रम विगतदेखि घट्दै आएको छ । ओलीले प्रधानमन्त्री हुँदा ६९ औं जन्मदिन तेह्रथुमको अठराईमा मनाएका थिए । त्यहाँ ओलीले नेपालको नक्सा अंकित केक काट्दा र हेलिकोप्टर प्रयोग गर्दा १ करोड ५० लाख बढि खर्च भएको भन्दै निकै आलोचना समेत भएको थियो । अर्को उनको ७० औं जन्मदिन मनाइरहेको बेला यस्तै सर्वोच्च अदालतले संसद विघटन पुनस्थार्पना गरेको थियो ।
यस्तै ७१ औं जन्मदिनका दिन ओली सत्ता बाहिर पुगिसकेका भने पुनस्थापित एमाले पनि सग्लो थिएन त्यौ पीडामा पनि बालकोटमा ओलीले संगितिक कार्यक्रमसहित जन्मदिन मनाएका थिए । आज बिहीबार ७२ औं जन्मदिन मनाइरहेका ओलीलाई यो जन्मदिनले पनि शुभ संकेत दिएको छैन । कांग्रेस गठबन्धन भत्काएर माओवादी अध्यक्षलाई प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीले त्यसको दुई महिना मै धोका पाउँने भएका छन् ।
राष्ट्रपतिको पद र गत पुष १० गते भएको सहमतिलाई प्रचण्डले तोड्दै स्थानीय, प्रदेश र संघको निर्वाचनमा सँगै गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने निर्णयमा पुगेसँगै जन्मदिनकै दिन ओलीलाई अर्को राजनीतिक चोट लाग्ने स्पष्ट संकेत देखिएको हो ।