सागरले ल्याए एकैदिनमा दुईवटा गीतको किताब
काठमाडौं । गीतकार सागर उदासले एकै दिनमा आफ्ना दुईवटा गीति कृति सागर सुसेली र फैलिन्छ कि माया ल्याएका छन् । गण्डकी वाङ्यमय प्रतिष्ठान तनहुका अध्यक्ष समेत रहेका सागरले काठमाडौंको साहित्यिक माहौलमा कृति सार्वजनिक गर्न रुचाए । बरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमाभएको लोकार्पण समारोहमा गायक तथा सङ्गीतकारको उतहजनक उपस्थिति थियो । कन्सेप्ट नेपालको ब्यानरमा अनामनगरको सिलौटो कटेजमा भएको समारोह पृथक किसिमको थियो ।
प्रमुख अतिथि मुकारुङले गीत सिर्जनामा सागर निकै उर्जाशील भएको बताउँदै गीतमा पनि नयाँ नयाँ प्रयोग हुनु पर्ने बताए । बरिष्ठ गजलकार ललिजन रावलले गीतकार उदास गीति चेतनाले भरिएका सर्जक भएको दावी गरे । बरिष्ठ गीतकार रमेश पौडेलले साहित्यमा राजधानी र मोफसलको साँधसिमा भत्कनु पर्ने तर्क राख्दै सागर अर्गानिक गीतकार भएको दावी गरे । गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले कृतिको समीक्षा गर्दै सागरका गीत सबैको मन छुने खालका भएको बताए ।
बरिष्ठ सङ्गीतकार बीबी अनुरागीले सागरमा गीतमा दुई दशक अघि नै आफुले सङ्गीत भरेको र उनका गीत मर्मश्पर्शी हुने बताए । अर्का गायक तथा सङ्गीतकार राजनराज शिवाकोटीले कृतिका गीतले सङ्गीत भर्ने उर्जा दिएको बताए ।गीतकार सागर उदासले आफु बर्मामा जन्मे पनि पुख्र्यौली थलो तनहुँको माटोले गीतकार बनाएको अनुभव सुनाउँदै अनलाईबाटै आमाको शुभेच्छा सुनए ।
कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यको अध्यक्षतामा भएको विमोचन समारोहमा गीतकारका बारेमा कवि गीतकार दिपेन्द्र थापा र सुरेन्द्र रानाले गीतकार सागरले आफ्नो उपनाम उदास नभै रसिक राख्नु पर्ने बताए ।चालीसको दशकदेखि साहित्य सिर्जनामा लागेका अर्जुन अधिकारी उर्फ सागर उदासका यस अघि सागर भित्रका कणहरू गीतसङ्ग्रह,आभार गीति एल्बम,रवि गीति एल्बम प्रकाशित भइसकेका छन् ।