बैंकविरुद्धको अराजक समूहलाई कारवाही गर्न सिबिफिनको माग


काठमाडौं । बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई तत्काल कारवाही गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले माग गरेको छ । सिबिफिनले एक प्रेस विज्ञप्ति जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न माग गरेको हो । ‘वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज र साँवा समेत नतिर्ने धम्की र कर्मचारीमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ , ‘संवेदनशील क्षेत्रमाथि भएका उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नुपर्ने र कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । बैंकिङ्ग क्षेत्र अत्यन्तै पारदर्शी र संवेदनशील भएकाले नियामकमार्फत जारी नीति निर्देशनको कार्यान्वयन, राष्ट्र बैंकको स्थलगत तथा गैरस्थलगत निरीक्षणका आधारमा दिइएका सुझाव र बजारको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै अपनाएका सजगतापूर्ण कार्यहरुको कारण आर्थिक क्षेत्र सकारात्मक दिशातर्फ उन्मूख हुँदै गरेको सिबिफिनले बताएको छ ।

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैंकिङ क्षेत्रले आम जीवनस्तर, आर्थिक तथा सामाजिक क्षेत्रको विकास एवं विस्तार, रुपान्तरण र समग्र देशको दिगो आर्थिक विकासमा योगदान पुर्याएको सिबिफिनले जनाएको छ । पवित्र मनसायसहित दशकौंदेखि बैंकिङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौ संस्थापक र सर्वसाधारण लगानीकर्ता, कर्मचारीहरुको योगदानलाई नजरअन्दाज गर्न नहुने सिबिफिनको भनाइ छ । ‘देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी अवाञ्छित क्रियाकलापहरु अगाडि बढ्ने हो भने स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन सकिँदैन, यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारको रुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौं, सिबिफिनको विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *