माओवादीका मन्त्रीले राजीनामा दिएसँगै गण्डकी सरकार अल्पमतमा


काठमाडौं । गण्डकी प्रदेश सरकारका नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि आजै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गण्डकी प्रदेश सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।

संवैधानिक व्यवस्था अनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ । एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । उनले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे । सत्ताइस सदस्यसहित प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । कांग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *