अर्थमन्त्रीले दिएको अभिव्यक्तिले देशभित्र ‘खलबल’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको एक अभिव्यक्तिले देशभित्र खलबली मच्चिएको छ । एनटीभी वर्ल्ड समिटमा सहभागी हुने क्रममा उनले दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिका कारण प्रतिपक्ष दलका नेताहरूले वाग्लेको आलोचना गरिरहेका छन् । “अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्‍याउने खालको छ,” नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् । ज्ञवालीले विदेशी भूमि कुनै पनि सरकारी अधिकारीका निम्ति आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताबारे बोल्ने थलो नभएको स्पष्ट पारेका छन् । “नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ थिएन । नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ,” ज्ञवालीले भनेका छन्, “कुनै व्यक्ति या समूहविशेषले राख्ने दृष्टिकोण आफैँमा कुनै ‘युग’ होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन ।” अर्थमन्त्रीले कुन ‘युग’को कुरा गरेका हुन् भन्ने स्पष्ट पार्न पनि उनले आग्रह गरेका छन् । ज्ञवालीले नेपाल र भारतका बीचमा धेरै समस्या रहेको उल्लेख गरेका छन् । सीमा समस्या, सुरक्षा छाताको आभास दिने १९५० को सन्धिका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नुपर्ने झन्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण बर्सेनि हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविकै रूपमा पाउनुपर्ने वैकल्पिक हवाई प्रवेशमार्गमा गरिएको आनाकानीजस्ता समस्या उनले औँल्याएका छन् । “घनिष्ट छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ । समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,” ज्ञवालीले भनेका छन्, “यी विषयहरू उठाउनु कुनै देशविशेषको विरोध होइन, यो नेपालको राष्ट्रिय हितको प्रश्न हो ।” हरेक सरकारको दायित्व राष्ट्रिय हितको रक्षा गर्नु रहेको उनले जनाएका छन् । समाधानको एक मात्र बाटो यी विषयमा बलियो राष्ट्रिय एकता र सहमति निर्माण गर्नु रहेकामा उनले जोड दिएका छन् । “यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टिकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्‍याउँछ,” ज्ञवालीले लेखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले पनि अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

“नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो । नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन । विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ,” थापाले सामाजिक सञ्जालमा लेखेका छन् । सानो समूहको केही अपवादमूलक धारणालाई लिएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु वाग्लेको पूर्वाग्रही चस्माको उपज भएको ठहर थापाको छ । नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उनले जनाएका छन् । “हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँ, तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोधी होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो । के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’कै उपज त होइन ? जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ,” थापाले भनेका छन् । थापाले वाग्लेको भनाइलाई ‘के सरकारको धारणा यही हो ? भनेर प्रश्न समेत गरेका छन् । एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पनि अर्थिमन्त्री वाग्लेको अभिव्यत्तिप्रति आपत्ति जनाएका छन् । “अर्थमन्त्री वाग्ले जब भारत पुग्छन्, तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन’ भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाइ हो,” बास्कोटाले भनेका छन् । अर्थमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्री वालेन्द्र साहको प्रस्तावित भारत भ्रमणका क्रममा सीमा विवादका विषयमा छलफल होला,नहोला भन्ने आशंका पैदा गरेको उनले उल्लेख गरेका छन् । “मुनरो डक्ट्रिन अर्थमन्त्रीको भनाइले त्यो राष्ट्रघात हुन्छ । धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन् । र, आस छ । नयाँ जोगीले साह्रै खरानी उडायो,” बास्कोटाले कटाक्ष गरेका छन् । एमालेकै अर्का नेता राजन भट्टराईले पनि अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालको हितमा बोल्नु ‘उग्र राष्ट्रवाद’ र भारतविरोधी दुवै नहुने उनले धारणा राखेका छन् । सन् १९५० मा नेपाल आधुनिक युगमा प्रवेश गरेदेखि नै नेपालको हितसँग सम्बन्धित कुनै विषय उठाउनेबित्तिकै त्यसलाई सहजै उग्र राष्ट्रवाद वा ‘भारत विरोध’को संज्ञा दिने गरिएको भट्टराईको भनाइ छ । “नयाँ दिल्लीमा बसेर नेपालबारे लेख्ने वा बोल्ने कतिपयले देशभक्त नेपालीहरूमाथि लगाउने आरोप हो यो । अब नयाँ दिल्लीकाहरूले मात्र होइन, यताबाट उता गएर नयाँ दिल्लीकै भाष्य बोल्नेहरूले पनि त्यही आरोप लगाउन थालेका छन्,” भट्टराईले भनेका छन् । उनले ‘के नेपालको दक्षिणी सीमामा भारतले संरचना निर्माण गरेका कारण वर्षायामको बाढीको पानी दक्षिणतर्फ सहज रूपमा बग्न नपाउँदा हाम्रो भूभाग डुबानमा पर्‍यो भन्नु भारतको विरोध हो ?’ भनेर अर्थमन्त्रीलाई प्रश्न समेत गरेका छन् । “के हाम्रा कृषिजन्य उत्पादनहरू—अलैँची, चिया, जुटलगायतका वस्तुहरू—द्विपक्षीय सहमतिअनुसार विनाअवरोध भारतीय बजारमा निकासी हुन पाउनुपर्छ भन्नु हाम्रो राष्ट्रिय हितको पक्षमा बोल्नु हो कि भारतको विरोध गर्नु हो ?” भट्टराईको प्रश्न छ । ‘भारतले आफूले रोजेको लगानीकर्ताबाट उत्पादित बिजुली मात्र खरिद गर्छु भन्ने अडान सम्झौताअनुरूप छैन’ भन्न नपाइने हो र ? भन्दै उनले प्रश्न गरेका छन् । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले भने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको बचाउ गरेका छन् । छिमेकीलाई गाली गरेर राजनीति गर्ने जमाना गएको भन्दा कसरी देशविरुद्ध हुन्छ ? भनेर उनले प्रश्न गरेका छन् । “अनि के ‘भारतलाई गाली गरौँ, राष्ट्रियता जोगाऔँ’ भन्नुपर्ने थियो ?१” उनको प्रश्न छ । भारतीय विस्तारवाद भन्दै उतैको शरणमा बसेर यता आतंक मच्चाएको इतिहास रहेको उनले जिकिर गरेका छन् । “अब झुठो बोलेर जनतालाई अलमलमा पार्नु आवश्यक छैन । हिजो भारतमा बसेर नेपालमा रक्तपात मच्चाउने र महाकाली सन्धिमा हस्ताक्षर गर्नेहरू नक्कली राष्ट्रवादी नै हुन्,” उनले भनेका छन्, “जसलाई आज पनि नेपाल एकीकरण र पृथ्वीनारायण शाह मन पर्दैन ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *