गुल्मीमा जिप दुर्घटना, मृतक ६ जना र घाइतेको पहिचान खुल्यो

गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका–२ अर्वेनीमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उद्धार गरी अस्पतालतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेहरूमा गाडी चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्ने अन्दाजी ५०–५५ वर्षीय लोकनाथ पाण्डे, कालीगण्डकी–१ सिरकोट घर भई बुटवल बस्ने सिता पाण्डे, कालीगण्डकी–१ सिरकोट घर भई देवदह खैरेनी बस्ने कुलानन्द पाण्डे र वालिङ–१० की निता बगाले रहेका छन् ।

यस्तै, दुर्घटनामा घाइते हुनेहरूमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, वालिङ–१० बस्ने बालकृष्ण सुवेदी र कालीगण्डकी–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्ने अन्दाजी ५०–५५ वर्षीया गोमता पाण्डे रहेका छन् । घाइते छविलाल र बालकृष्णको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचार भइरहेको छ । यस्तै घाइते गोमताको पाल्पाको तानसेनस्थित मिसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थीहरू सवार गण्डकी प्रदेश बि।एए ०२२० नम्बरको गाडी कालीगण्डकी गाउँपालिका–२ अर्वेनीको दभौखानीमा सोमबार दिउँसो करिब ४ बजे दुर्घटना भएको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए । दुर्घटनाग्रस्त गाडीमा ९ जना सवार थिए । उक्त गाडी सडकबाट करिब २५० मिटर तल खसेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *