गोल्छाको नियोटेरिक नेपालको व्यापार, गत वर्ष ४० प्रतिशतले बढेर अहिलेसम्मकै धेरै ५ अर्ब पुग्यो

काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालले एकै वर्ष करिब ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । २०२५ को तुलनामा २०२६ मा कम्पनीको व्यापार ४० प्रतिशतले बढेर हालसम्मकै उच्च भएको हो । कम्पनीले सन् २०२५ मा ३ अर्ब ४९ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ३ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार गत आवमा डेल, हायर र नोकिया ब्रान्डका सामग्रीको उच्च माग हुँदा व्यापार उल्लेख्य बढेको हो । कम्पनीले गत आवमा १.६८ प्रतिशत खुद नाफा कमाएको छ । त्यस्तै कम्पनीको ग्रस क्यास एक्रुअल सन् २०२५ मा ४ करोड ५० लाख रुपैयाँ रहेकोमा २०२६ मा बढेर ९ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीको ब्याज कभरेज अनुपातमा सुधार भई २.०९ गुणा कायम भएको छ । कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात ३४.०१ गुणा पुगेको छ । कम्पनीको पुँजीगत संरचना उच्च ऋणमा निर्भर रहेको छ । कम्पनीको समग्र गियरिङ सन् २०२५ मा ३।७३ गुणा रहेकोमा २०२६ मा बढेर ४.७७ गुणा पुगेको छ । सन् २००४ मा स्थापना भएको यो कम्पनीले विभिन्न प्रकारका आईटी सामाग्री, डेल ल्यापटप र सर्भरको बिक्री गर्दै आएको छ ।

यो कम्पनी डेल ल्यापटप र सर्भर र नोकिया कर्पोरेसनको टेलिकम सामग्रीको आधिकारिक वितरक हो । सञ्जय गोल्छाको नेतृत्वमा रहेको यो कम्पनीले ३० भन्दा बढी ब्रान्डको एक हजारभन्दा बढी सामग्रीको ब्यापार गर्दै आएको छ । कम्पनीले डेल टेक्नोलोजिज, डेल इएमसी, नोकिया, हाइकभिजन, लोजिटेक, पिपललिंक र अन्यसँग वितरकको लागि सम्झौता गरेको छ । कम्पनीको देशभर ५ वटा शोरुम छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६१ करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले चीन, मलेसिया र भारतबाट सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनी सूचना तथा प्रविधि क्षेत्रको सामग्री आयात गर्ने सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीको संस्थागत संस्थापक सेयरधनी हिम इलेक्ट्रोनिक्स हो भने व्यवसायी शेखर गोल्छा नेतृत्वमा रहेको गोल्छा ग्रुपका केही व्यक्तिको पनि लगानी छ । हिम इलेक्ट्रोनिक्स नेपालको लागि सामसङ ब्रान्डको आधिकारिक विक्रेता हो । नियोटेरिकका अध्यक्ष सञ्जय शेखरका भाइ हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *