सन नेपाल लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङ पुनः पुष्टि भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ पुनः पुष्टि गरेको हो । यसअघि कम्पनीले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको थियो जसलाई यथावत् कायम गरेको छ । यस रेटिङले कम्पनीले नेपालमा आफ्नो वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने मध्यमस्तरको सुरक्षा प्रदान गर्ने र यसमा मध्यम क्रेडिट जोखिम रहेको देखाउँछ । आर्थिक वर्ष २०८२।८३ मा कम्पनीको कुल आर्जित बीमाशुल्क ५ अर्ब ९ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि हो । अघिल्लो आवमा कम्पनीको कुल आर्जित बीमा शुल्क ४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ थियो । नवीकरण प्रिमियम संकलनमा आएको वृद्धिका कारण कुल आर्जित प्रिमियम बढ्न मद्दत पुगेको हो । आव २०८२।८३ मा कम्पनीको खुद आर्जित बीमाशुल्क करिब १३ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको खुद आर्जित बीमाशुल्क ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ थियो । त्यस्तैबीमितको प्रतिफललाई सुरक्षित गर्न जीवन बीमा कोषको आकार बढाएर १२ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुर्याइएको छ । अन्डरराइटिङ नतिजामा सुधार आए तापनि जीवन बीमा कोषमा गरिएको उच्च रकम हस्तान्तरणका कारण समीक्षा अवधिमा कम्पनीको करअघिको नाफा भने घटेको छ ।
अघिल्लो आवमा ५८ करोड २० लाख रुपैयाँ नाफा कमाएकोमा गत आवमा कम्पनीले ३६ करोड ६० लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशन, २०२४ बमोजिम गत आवमा कम्पनीको सोल्भेन्सी मार्जिन २.४४ गुणा बलियो स्थितिमा रहेको देखिएको छ । कम्पनीले आफ्नो कुल लगानीको करिब ५८ प्रतिशत हिस्सा विभिन्न बैंक तथा वित्तीय संस्थाका मुद्दती तथा ब्याज दिने निक्षेपहरूमा सुरक्षित गरेको छ, जसले पर्याप्त तरलता प्रदान गरेको छ । यसका साथै कम्पनीले देशका ७ वटै प्रदेशका ७० जिल्लाहरूमा आफ्ना ४८ शाखा, १०२ उपशाखा तथा ३० हजारभन्दा बढी अभिकर्ताहरू मार्फत आफ्नो सेवा विस्तार गर्दै आएको छ । कम्पनीको अध्यक्षको जिम्मेवारी अनुज केयालले निभाउँदै आएका छन् भने प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा राजकुमार अर्याल छन् ।

















