पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताएका छन् । स्याङ्जामा सोमबार आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्दै तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने बताएका हुन् । ‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिनअगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन,’ थापाले भने, ‘उम्मेदवारहरूको प्रारम्भिक काम पुस–माघमा टुंग्याउँछौं ।’ ‘डिजिटल’ मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने सभापति थापाले बताए । ‘सूची तयार गरेपछि पनि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउँछौं,’ उनले भने, ‘उम्मेदवार बनाउने कुरा हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ ।’ सभापति थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएकाले अब कांग्रेस एकढिक्का भएर बाहिर हेर्नुपर्ने बताए । आन्तरिक प्रतिस्पर्धालाई विगतको चरणका रूपमा व्याख्या गर्दै उनले अब पार्टी संगठन र परिवारका रूपमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘हामीले गुमाएको मत होइन, विश्वास हो ।

विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ,’ सभापति थापाले भने, ‘विश्वास भएको बेलामा मत आफैँ आउँछ, विश्वास गुमायो भने मत आफैँ गुम्छ ।’ उनले निर्वाचनअघि मत जोगाउनेभन्दा जनताको विश्वास पुनःस्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए । त्यसका लागि पार्टीका प्रत्येक सदस्यले संगठनभित्र गर्नुपर्ने काम र पार्टीप्रतिको सार्वजनिक धारणा अर्थात् छविमा सुधार ल्याउनुपर्ने सभापतिको भनाइ थियो । सभापति थापाले मंसिर महिनालाई पार्टीको जागरण अभियानका रूपमा अघि बढाउने योजना पनि सुनाए । केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट कार्यक्रम तय गरी कार्यकर्तामाझ पुग्ने र पार्टीभित्रको सम्बन्धलाई थप सुदृढ बनाउने उनले बताए । थापाका अनुसार मंसिरमा संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापनामा केन्द्रित हुने र पुस र माघमा निर्वाचनलक्षित गतिविधि सञ्चालन गरिने पार्टीको योजना पनि बताए । ‘मंसिरको महिना एउटा जागरणको समय बनाऔं । हामी पर्सी केन्द्रीय कार्यसमितिको बैठकबाट एउटा कार्यक्रम बनाउँदै छौं,’ सभापति थापाले भने, ‘त्यसपछि पुस र माघको समय हामी चुनाव केन्द्रित कामहरू गर्छौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *