एमालेका नेताहरू काठमाडौंबाट बाहिर जानै मानेनन्, चिन्तामा ओली

काठमाडौं । आगामी वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा एमालेले आफ्नै उम्मेदवार उठाएको छ । बारा २ मा पुरुषोत्तम पौडेल, चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई एमालेले उम्मेदवार बनाएको छ । तीनवटै निर्वाचन क्षेत्रमा एमालेले प्रचार प्रसार तीव्र पार्नुपर्ने हो ।

यो उपनिर्वाचनले सत्ता समीकरणमा केही फेरबदल नपारे पनि आगामी पाँच वर्षमा दलहरूको हैसियत भने अवश्य मापन गर्ने छ । त्यही भएर अहिले उपनिर्वाचनलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले पनि प्रतिष्ठाको विषय बनाउनुपर्ने हो । तर त्यो पार्टीका शीर्ष नेता कोही पनि उपनिर्वाचनमा खटिएका छैनन् । बरु सचिव योगेश भट्टराई भने चितवन पुगेर रवि लामिछानेमाथि फायर खोले । गोकुल बास्कोटालाई चुनावी कमान्डर बनाएको एमालेका अन्य पदाधिकारी भने काठमाडौंमै मुख थुनेर बसेका छन् ।

एमालेमा रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपाध्यक्ष छन् । तर चितवन घर भएकै बादलसमेत चुनावी प्रचारमा हिँडेका छैनन् । महासचिव शंकर पोखरेल आफैं प्रतिनिधिसभामा पराजित भएकाले उनी चितवन जाने हिम्मत जुटाउन सकिरहेका छैनन् । उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल त कहीँकतै सिनमा समेत देखिएका छैनन् ।

तीनवटै निर्वाचन क्षेत्रमा एमाले प्रतिस्पर्धामा समेत नभएको सूचना पाएपछि अध्यक्ष केपी ओली निराश देखिएका छन् । भाइरल ज्वरोका कारण केही दिनदेखि ओली बालकोटस्थित घरमै आराम गरिरहेका छन् । यसबीचमा उनले तीनवटै निर्वाचन क्षेत्रबाट सूचना बटुलेका थिए । जसमा एमालेको प्रभाव तीनवटै क्षेत्रमा नरहेको सूचना पाएपछि ओली निराश बनेका हुन् । त्यसैले उनले फेसबुकमार्फत आफ्ना उम्मेदवारलाई जिताउन उनले भोट मागेका छन् ।

विभिन्न जनसंगठनका अधिवेशनमा पार्टी नेतृत्वप्रति तीव्र आक्रोश देखिनु, ‘मिसन ग्रासरुट’ले समेत पार्टीलाई चलायमान गराउन नसक्नु, झापाबाट पार्टीका पुराना र लोकप्रिय नेता नरेश खरेलसहितको ठूलो पंक्तिले पार्टी परित्याग गर्नु, स्ववियु निर्वाचनमा अपेक्षित नतिजा हात नपार्नुले पनि अहिले ओलीमा चरम निराशा देखिएको स्रोतले बताएको छ । त्यही भएर यसअघि पार्टी छोडेर गइहाले हुन्थ्यो भनिएका भीम रावललाई केन्द्रीय कार्यालयमै बोलाएर एमाले नेताहरूले पार्टी नछाड्न अनुनय विनय गरिरहेका छन् ।

नेताहरूका अनुसार केपी ओलीले चितवन २ मा रास्वपाका रवि लामिछाने र कांग्रेसका जितनारायण श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने सूचना पाएका छन् । तनहुँ १ मा पनि कांग्रेसका गोविन्द भट्टराई र रास्वपाका स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने एमालेको बुझाई छ । तर केही एमाले मिडियाले भने भट्टराई र वाग्लेको लडाईमा सर्वेन्द्रले जित्ने लेख्न थालेका छन् । जबकि तनहुँमा उम्मेदवारी चयनकै विषयमा स्थानीय पार्टीभित्र आक्रोश हुँदा कार्यकर्ता परिचालित भएका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *