मिटरब्याजको समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ । अध्यादेश पठाउने काम हुन्छ । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा फौजदारी अपराध मान्ने गरी कानुन संशोधन गर्न लागेको छ । मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गरेर अनुचित लेनदेनमा हुने कानुनी कारबाही र त्यसका लागि अपनाउनुपर्ने कार्यविधिसम्बन्धी व्यवस्था थप गर्न लागेको हो ।
तर कानुन संशोधन गर्न अध्यादेशको बाटो लिएको छ । हाल संसद अधिवेशन स्थगित छ । सरकारले संसद स्थगित भएका बेला जरुरी कानुन अध्यादेशमार्फत ल्याउन सक्छ । तर उक्त अध्यादेशलाई पछि संसदले स्वीकार गर्नुपर्छ । सरकारले संसद अधिवेशन चालु रहेकै बेला विधेयक ल्याई संसदमै छलफल गरेर पारित गर्न सक्ने बाटो पनि अपनाउन सक्थ्यो, तर अधिवेशन अन्त्य भएको अवस्थामा अध्यादेश ल्याउन लागेको हो । ‘जे हुन्छ ऐनबाट हुन्छ अध्यादेशबाट हुँदैन अरु विषय तर मिटरब्याजी पीडितको समस्या विशिष्ट प्रकारको भएकाले अध्यादेशमार्फत गरिएको हो ।