पक्राउ परेको १३ दिनपछि श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु
काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । उनी सोमबार बिहान प्रहरी कार्यालय पुगेकी हुन् ।
पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ । यसअघि आफूमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु सम्पर्कविहीन थिइन् ।
उनी ११ दिनपछि संसद् बैठकमा उपस्थित भएकी इिन् । शरणार्थी प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगेपछि मञ्जु श्रीमान् भेट्न प्रहरी कार्यालय पुगेका हुन् ।
प्रहरीले सोमबार अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ ।