रूसद्वारा जर्मनी र बृटेनले यूक्रेनलाई दिएका अत्याधुनिक बख्तरबन्द गाडी कब्जा


काठमाण्डौं । रुसले युक्रेनलाई जर्मनी र बेलायतले दिएका अत्याधुनिक लडाकु ट्याङ्क र बख्तरबन्द गाडी कब्जा गरेको बताएको छ । यूक्रेनको जापोरिजियामा यूक्रेनी सेनासँगको लडाइँका क्रममा जर्मनीले दिएको लियोपार्ड ट्याङ्क र अमेरिकामा निर्मित ब्राडली इन्फन्ट्री ब्रान्डका बख्तरबन्द गाडीहरू कब्जा गरेको रुसले जनाएको छ । ट्याङ्क र गाडी कब्जा गरिएको भिडियो रुसको रक्षा मन्त्रालयले मेसेजिङ एप टेलिग्राममा पोस्ट गरेको छ । ती कब्जा गरिएका ट्याङ्क र गाडीलाई रुसले आफ्नो जितको ट्रफी र युक्रेनसँगै उसलाई सहयोग गर्ने पश्चिमा देशको हारका रूपमा व्याख्या गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । यूक्रेनले भने आफ्ना सहयोगीहरूलाई रुसले कब्जा गरेको क्षेत्र पुन प्राप्तिका लागि थप हतियार सहयोगका लागि आग्रह गरिरहेको छ ।

यतिबेलै जर्मनीले भने यूक्रेन युद्धमा रुसले कब्जा गरेको र ध्वस्त बनाएको बदलामा थप ट्याङ्क र हतियार पठाउन नसक्ने जनाएको छ । जर्मनीको रक्षा मन्त्रालयले यूक्रेनलाई सहयोग गरेकामध्ये कतिपय ट्याङ्क ध्वस्त भएका र कतिपय रुसले कब्जा गरेको हुन सक्ने स्वीकार गर्दै त्यस्तै थप हतियार पठाउन नसक्ने उल्लेख गरेको छ । आफ्नो देशले दिएका हतियार रुसले कब्जा गर्नु दुःखद भएको पनि जर्मनीले बताएको छ । गएको राति रुसले युक्रेनको क्रिइभी रिहमा गरेको मिसाइल हमलामा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । आज बिहानसम्म छ जनाको ज्यान गएको पुष्टि भएकोमा अहिले थप चार जनाको शव भेटिएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मिसाइल हमलामा २८ जना गम्भीर घाइते भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *