अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित दूतावासलाई निर्देशन
काठमाडौं । सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा यो जानकारी दिएका हुन् । भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिएको छ । त्यो नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ भने सरकारलाई भारतको प्रतिवाद गर्न दबाव परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत दिनप्रतिदिन आलोचना भइरहेको छ ।