बजेट पास गर्ने अघिल्लो दिन खुल्यो ललिता निवास काण्डको फाइल

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आयव्यय (बजेट) निर्णयार्थ पेस हुने कार्यतालिका छ । मंगलबार पनि संसदमा मन्त्रालयगत बजेटमाथि छलफल र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्य जारी छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पनि सांसदहरूले बजेटका विषयमा सोधेका प्रश्नको जवाफ दिइरहेका छन् ।

बुधबार बजेट संसदमा निर्णयार्थ पेस गरिने भएकैले आज मंगलबार नेपाली कांग्रेस र माओवादी संसदीय दलले आफ्ना सांसदलाई अनिवार्य संसद् बैठकमा उपस्थित हुन ह्विप जारी गरेका छन् । तर सत्तारुढ दल एकीकृत समाजवादी, जसपा, लोसपाले भने अझै आफ्ना सांसदलाई बजेटको पक्षमा मत हाल्न ह्विप जारी गरेका छैनन् । त्यसैले बजेट पास नहुने हो कि भन्ने त्रासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् । सत्तारुढ दलकै सांसद र मन्त्रीहरूले समेत बजेटको विरोध गरेपछि प्रधानमन्त्री प्रचण्ड चिन्तित बनेका छन् । तर, प्रमुख दलका शीर्ष नेताले बजेट पास गर्ने सहमति गरिसकेकाले प्रचण्ड आश्वस्त बनेका छन् ।

यहीबीचमा मंगलबार ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्ने फाइल खोलियो । र, धमाधम त्यसमा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सबैभन्दा पहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो । त्यसपछि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । बजेट पास हुने अघिल्लो दिन एकाएक ललिता निवासको सरकारी जग्गा घोटाला काण्डको फाइल ब्यूँताइएपछि अहिले नेपालको राजनीति तरल बन्न पुगेको छ ।

माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेकपा मिलेर समाजवादी मोर्चासमेत गठन भएको छ । तर मोर्चामै रहेका जसपा र एकीकृत समाजवादीले बजेट पास नगर्ने संसदीय दलको बैठकबाटै निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले बालुवाटारको सरकारी जग्गाको फाइल खोलेको बुझिएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाल तथा मुख्यसचिव लीलामणि पौडेलसमेत ललिता निवास प्रकरणमा संलग्न देखिएका थिए । उनीहरूमाथि सरकारी किर्तेमा मुद्दा चलाउने पर्याप्त आधार देखिएको थियो । अख्तियारले उन्मुक्ति दियो ।

जनतामा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्नेमा एमाले उपाध्यक्ष विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मी पनि छन् । पौडेलका छोरा नवीन पौडेल र रेग्मीले आफूले किनेको जग्गा फिर्ता गरेपछि अख्तियारले उन्मुक्ति दिएको थियो । रेग्मी एमाले र माओवादी मिलेर बनेको नेकपा खारेजीको फैसला गर्ने न्यायाधीश पनि हुन् । त्यसैले अहिले प्रचण्डले ललिता निवास काण्डको फाइल खोल्नुमा एमाले र एकीकृत समाजवादीलाई तर्साउन पनि रहेको विश्लेषण गर्न थालिएको छ । एमालेले बजेट पास हुनै नदिने खेल खेलिरहेको छ । बजेट पास नभएमा यो सरकार स्वतः ढल्नेछ । त्यसैले बालुवाटारको सरकारी जग्गा काण्डलाई ब्यूँताएर वाइडबडी, यति, ओम्नी काण्डको फाइल पनि खुल्ने प्रचण्डले संकेत गरेको बताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *