ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको शल्यक्रिया गरिएको छ । उक्त शल्यक्रिया सम्पन्न गर्न डाक्टरहरुको टीमलाई ९ घण्टा लागेको अस्पतालले बताएको छ । म्याग्दी जिल्लाको बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी पुगेको थियो । उनलाई २० वर्ष अघि नै हात्तीपाइले रोगको समस्या देखिएको थियो ।
प्रा.डा. श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया गरिएको बताए । डा.श्रेष्ठले भने, ‘जो बिरामी हुन उनी ३५ वर्षका छन् । उहाँमा हात्तीपाइलेको रोग करिब २० वर्षअघि नै शुरुवात भएको रहेछ । उनलाई हिँड्न धेरै मुस्किल थियो । प्लास्टिक सर्जरी विधिबाट हात्तीपाइलेको निकालिएको छ । विरामीको खुट्टा पनि निकाल्नुपर्ने अवस्था थियो । प्लाष्टिक सर्जरी गरेर खुट्टालाई जोगाउने गरी अप्रेसन भएको छ ।
खुट्टाका नशाहरु ठूला भएकाले छुने बित्तिकै रगत निस्किने हुँदा अप्रेसन जटिल भएको डा. श्रेष्ठले बताए । उनले भने, ‘हामीले यसलाई सफल अप्रेसनका रुपमा लिएका छौं । एउटा खुट्टाको हात्तिपाइले निकाल्यौं । त्यसको वजन ४८ केजीको भएको देखिएको छ । डा. श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा. समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गरेका थिए । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र आजै अस्पतालबाट डिश्चार्ज गरिएको उनले बताए ।