ओलीले दुई–दुईपटक संसद् विघटन गर्दा नबोलेका सुवास नेम्बाङ संसद् अवरुद्ध हुँदा असन्तुष्ट
काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला दुई–दुईपटक प्रतिनिधिसभा बैठक विघटन भयो । प्रधानमन्त्रीले निर्वाध ढंगले काम गर्न नपाएको भन्दै ओलीले संसद् नै विघटन गरे । तर त्यसबेला प्रतिनिधिसभाका पूर्वसभामुख र संविधानसभाका अध्यक्षसमेत भइसकेका सुवासचन्द्र नेम्वाङले केही बोलेनन् ।
पार्टी संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ नेपालको संविधान जारी हुने बेला संविधानसभाको अध्यक्षको कुर्सीमा थिए । उनले ओलीले संविधानविपरीत संसद् विघटन भएको विषयमा बोल्नेमा धेरैले अपेक्षा गरेका थिए । तर नेम्वाङले मौनता साँधे ।
ओलीको कदमको विरोध गर्दा पद र अवसर नपाइने डरले पनि नेम्वाङले मुख खोलेका थिएनन् । जसकारण उनी निकै आलोचित भए । कानुन व्यवसायीसमेत रहेका नेम्वाङले संविधानमा उल्लेख भएको बारेमा पनि बोल्न नसकेको भन्दै धेरैले उनको आलोचना गरेका थिए ।
तर शनिबार भने नेम्वाङले आफ्नै पार्टीले निरन्तर संसद् अवरुद्ध भएको विषयमा मुख खोलेका छन् । उनले संसद् अवरोधको विषयमा एमलेले औचित्यता सावित गर्नुपर्ने धारणा राखेका छन् ।‘राजनीतिक दलहरूले कहिलेकाहीँ संसद् अवरोध गर्छन् । अवरोध गर्दैनन् भनेर मैले भनेको छैन । तर, त्यो अवरोधको आवश्यकता पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित दलकै हो । अहिले मेरो दल छ भने मेरो दलले त्यसलाई जस्टिफाई गर्नुपर्छ, ’ संसद् सचिवालयले शनिबार धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामा नेम्बाङले भने ।
एमालेले गर्दै आएको अवरोधमा उनी आफैं सहभागी हुने गरेका छन्। ‘अवरोध राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने जिम्मेवारी सम्बन्धित दलको हो’, नेम्बाङले भने।
सो कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधको विरोध गरे। ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध रोकेर संवाद गरौँ। अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन’, उनले भने।