एमाले लुम्बिनी प्रदेशमा ओलीको निर्देशन विपरित निर्वाचनको तयारी

रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरित नेतृत्व चयनका लागि निर्वाचनको तयारी गरिएको हो ।

अध्यक्ष ओलीले शनिबार अधिवेशनको उद्घाटन गर्दै आपसी सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, दुई समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको भन्दै चुनावी तयारीमा लागेका हुन् । अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल दावेदार छन् । कँडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पुर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न पुनः आग्रह गरेका थिए । तर, सहमतिमा नेतृत्व चयनको सम्भावना टरेको नेताहरुको भनाई छ ।

रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेता तथा प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कँडेलले एक वर्षमात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् । दुवैले अडान नछाडेपछि निर्वाचनमा जाने करिब निश्चित भएपनि सहमतिका लागि प्रयास भइरहेको नेताहरुले बताएका छन् । तर, सहमतिमा जाने सम्भावना कम भएकाले निर्वाचन हुन सक्ने केन्द्रीय सदस्य भूमिश्वर ढकालले बताए ।

जिल्लागत रूपमा प्रदेश कमिटीमा जाने सदस्य टुंगो लगाउन सबै जिल्लाबाट छानिएका प्रतिनिधिहरू १२ वटा समूहमा अलग अलग बसेका छन् । केही जिल्लाले सहमतिमा प्रदेश कमिटी सदस्य टुंगोमा पु¥याएको केन्द्रीय सदस्य चेतनारायण आचार्यले बताए । २०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६, अपांगबाट एक, मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुनेछन् ।

यस्तै, पदाधिकारी ५ जना हुनेछन् । जसअनुसार १२ वटै जिल्ला कमिटीले सहमतिमा नाम पठाउन अलग अलग बैठक बसिरहेको छ । यदि जिल्लाबाट जाने नाममा सहमति नभए निर्वाचन हुनेछ ।

यसैबीच निर्वाचन मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रकृया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए । उनका अनुसार मतदान भएको खण्डमा भोलि बिहान मात्रै हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *