प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब अनलाइनबाटै टिकट
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजदेखि अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ । बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बुधबारदेखि नै अस्पतालमा एक–एकवटा बिलिङ, टिकट काउन्टर र फार्मेसी काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । अस्पतालमा अहिले जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको अस्पताल निर्देशक श्रीप्रसाद अधिकारीले बताए ।
अस्पतालमा स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको उनले बताए । गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ८० हजार ८९० जनाले ओपीडी र २४ हजार ६७२ ले प्रसूति सेवा लिएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा एक हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको अस्पतालको तथ्यांक छ ।