शुभप्रवा सेभिङ्गको १४औं साधारण सभा सम्पन्न
काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिदुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. युवराज खतिवडा रहेका थिए । सभामा बोेल्दै खतिवडाले सदस्यहरुको विश्वास जितेको कारण वित्तीय संकटको बेलामा पनि तरलता व्यवस्थापन गर्न सक्नु संस्थाको राम्रो पक्ष भएको बताए । सदस्यले नै सहकारीलाई बचाउने भन्दै उनले सदस्य र संस्थाबीच राम्रोे सम्बन्ध स्थापित गरेर अगाडि बढ्न सुझाव दिए । तरलता संकटका बेलामा पनि सदस्यहरुलाई निरन्तर बचत फिर्ता गर्न सक्नुले संस्था सबल भएको इंगित गर्ने उनले बताए ।
संस्थाले आर्थिक बर्ष २०८०।८१ को लागि लिएको लक्ष्य प्राप्तिमा सफलताको शुभकामना दिँदै डा। खतिवडाले कुल वासलातमा १०,१५ प्रतिशतले वृद्धि गर्न सुझाव दिए । संस्थाका अध्यक्ष बस्नेतले सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै स्वनियमन र सुशासनमा चलेकाले वित्तीय संकटको बेलामा पनि संस्थाको साखलाई जोगाइराख्न सकेको बताए । सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न संस्था सफल भएको उनको भनाई छ । मुलुकमा आएको आर्थिक मन्दीका कारण थप समस्या सृजना भएको वर्तमान अवस्थामा पनि सदस्यहरुको विश्वास र सहयोगका कारण संस्थालाई निरन्तर अगाडि बढाउन सकेको बस्नेतले जनाए । सदस्यहरुको बचत खातामा रहेको रकमलाई कुनै सीमा र शर्त नराखी संस्थाले उपलब्ध गराउन सक्नुलाई अहिलको उपलब्धी भएको उनले बताए । आर्थिक मन्दीको बीचमा पनि संस्थाको वित्तीय सुचकांकहरु वृद्धि गर्न सफल भएको र संचालन मुनाफा समेत आर्जन गर्न सकेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले आर्थिक बर्ष २०७९।८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । कोभिड १९ पछि सुरु भएको आर्थिक मन्दीका कारण आम नागरिकको जीवनस्तर, आय आर्जन र व्यापार व्यवसायमा प्रभाव पर्दा त्यसको समग्र असर वित्तीय क्षेत्रमा समेत परेको उनले बताए । तरलता अभावका कारण वित्तीय क्षेत्रमा निक्षेप संकलनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा ब्याजदरमा देखिएको फराकिलो उतारचढावले सहकारी क्षेत्रमा थप दवाव सृजना भएको उनको भनाई छ । आर्थिक मन्दी लगायत वित्तीय क्षेत्रमा आएको असहज परिस्थितिका कारण अघिलो बर्षको तुलनामा बचत संकलन र ऋण लगानीमा केही कमी आएको भएत पनि विभिन्न वित्तीय सुचकांकहरु भने थप मजबुत बनाउन सफल भएको उनले सभामा बताए ।
संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म ८ करोड ९३ लाख शेयर पुँजी, ४८ करोड ८९ लाख ९६ हजार बचत संकलन र ५४ करोड ६६ लाख ५० हजार ऋण लगानी गरेको छ । त्यसैगरी संस्थाको कोषमा ८ करोड ३ लाख ७४ रुपैया जम्मा भएको छ भने त्यस अवधिमा १ करोड १ लाख सञ्चालन मुनाफा आर्जन गर्न संस्था सफल भएको छ । असार मसान्तमा संस्थाको कूल सम्पत्ति ७४ करोड २५ लाख ९४ हजार रहेको छ । संस्थाले सदस्यहरुलाई सरल र सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यले शुभप्रवा मोबाइल एप, एटिएम सेवा, क्युआर स्क्यान, फन्ड ट्रान्सफर जस्ता सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक सुन्दर खड्काले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा विभिन्न संघसंस्था प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए भने विभिन्न विधामा उत्कृष्ट हुने सदस्य र कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।