भारतद्वारा भूकम्प पिडितलाई तेस्रो चरणको राहत सामग्री सहयोग
काठमाडौं । भूकम्प पिडितका लागि नेपाललाई भारतले तेस्रो चरणको राहत सामाग्री पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमानमार्फत कार्तिक २३ गते भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी नेपाल पठाएको काठमाडौँ स्थित भारतीय राजदुतावासले जनाएको छ ।
जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित भएका नेपाली नागरिकहरुको उद्धारका भारतले तेस्रो चरणमा पठाएको राहत सामाग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री समावेश नेपाल स्थित रहेको भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आपतकालीन समयमा नागरिकहरुको उद्धारका लागि छिमेकी राष्ट्र भारतले पठाएको राहत स्वरुपको सहयोगलाई नेपालले सकरात्मक ठानेको छ ।
पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश गराएको थियो । भारतले नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न सदैव तयार रहेको जनाएको छ ।
नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्घ रहेको कुरा भारतले भूकम्प लगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गरेको छ । भारत सरकारले नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा आपतकालीन समयमा नेपाललाई निरन्तर सहयोग गर्ने बताएको छ ।