रौतहटको मौलापुरकी मेयर साहको पद पुनर्बहाली गर्न अन्तरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै साहलाई पुनर्बहाली गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ ।

निवेदिकाको नगर प्रमुख पद स्वत रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचना समेत हाललाई कार्यान्वयन नगर्नू,नगराउनू र निज निवेदिकालाई पूर्ववत् रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत् काम कारबाही गर्न दिनू भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ, आदेशमा भनिएको छ ।

साह ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएकी हुन् । तर, उनले एमाले छाडेपछि पार्टीको कारबाहीमा परेकी थिइन् । साहले पार्टी छाडेको जानकारी एमालेले निर्वाचन आयोगलाई गराएपछि आयोगले साहलाई गएको असोज २९ गते पदमुक्त गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *