एमालेको संकल्प यात्रामा अवरुद्ध गर्ने १० जना पक्राउ
विराटनगर । प्रहरीले नेकपा एमालेको संकल्प यात्रामा अवरुद्ध गर्न खोजेको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किरातीसहित १० जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको हो । बाटोमा रुख ढालेर अवरोध गर्न खोज्ने किरातीसहित १० जना आन्दोलनकारीलाई ओखलढुंगा, खोटाङ, भोजुर लगायतका जिल्लाबाट नियन्त्रणमा लिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए
किराती खोटाङको हलेसीबाट पक्राउ परेका हुन् । एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए । कोशी प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो ।
सोही घोषणा अनुसार पहिचानवादीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।















