बुद्धका सिद्धान्त,विचार र दर्शन कहिल्यै पुराना हुँदैनन् : प्रधानमन्त्री प्रचण्ड

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् ।

आज (मंगलबार) नवलपरासीको रामग्राममा आयोजना भएको विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना नहुने बताए । ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाती रहेसम्म बुद्ध शिक्षाको औचित्य, आवश्यकता र महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ’, प्रधानमन्त्रीले भने, ‘आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न पुगेको छ ।’

कार्यक्रममा उनले रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत जनाइएका प्रतिविद्धताले उक्त क्षेत्रको महत्त्व अरू बढेर गएको पनि बताए । ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो’, प्रधानमन्त्रीले भने,‘देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न सफल भएका छौं । ’

प्रधानमन्त्रीले कोप–२८ मा नेपालका हिमाल र पहाडको संरक्षण गर्न सघाउनु पर्ने प्रतिबद्धता व्यक्त भएको र उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *