राष्ट्रियसभालाई ४-० ले हराउँदै प्रतिनिधिसभा विजयी
काठमाडौं । १७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।
प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको छ । भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक एक गोल गरेका छन् ।
प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा थिए भने राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी थिए ।
सो अवसरमा सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटसल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिए । ‘नेपालमा फुटसलको विकास भएको केही समय भयो, सानो ठाउँमा पनि फुटसलको अभ्यास गर्न सकिने भएकाले आफूहरु खेल प्रवद्र्धन गर्न र युवायुवतीलाई उत्साह प्रदान गर्न सहभागी भएका हौँ’, उनले भने ।
राजनीति र फुटसल एकै प्रकारको भएको उल्लेख गर्दै उनले फुटसल भौतिक रुपमा र राजनीति विचारका रुपमा खेलिने बताए ।















