खाँणले बुझाए बैंक ग्यारेन्टी, सम्पत्ति शुद्धीकरणमा लैजादै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् ।
उच्च अदालत पाटनको आदेशअनुसार उनले नविल बैङ्कमार्फत् जिल्ला अदालत काठमाडौँमा ३० लाखकाे बैङ्क ग्यारेन्टी बुझाएका हुन् । बिहिबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।
अब खाँणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने छ । खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागारले जनाएको छ ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।