राप्रपाको केन्द्रदेखि वडाका कार्यक्रमहरूमा शाकाहारी खाना मात्रै खुवाइने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन् ।

गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ । राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दूधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो ।

पार्टीका कार्यक्रममा अबदेखि माछामासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन् ।

‘राप्रपा नेता, कार्यकर्ताले घरमा त खान मन लागे ननभेज खान पाइहाल्छन्, पार्टीका कार्यक्रममा मात्रै शाकाहारी भोजन गराउन लागिएको हो,’ प्रवक्ता श्रेष्ठले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *