बैंकमा पैसा थुप्रियो, २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट आज २० अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले एक साता अवधिको लागि पुस १२ गते बिहीबार २० अर्बको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो । बोलकबोल आज दिउँसो २ बजे हुनेछ । राष्ट्र बैंकले खिच्न लागेको उक्त रकम २०८० पुस १९ गते सावाँ तथा ब्याज फिर्ता गर्ने जनाएको छ । यस बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको लागि आवेदन दिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले हिजो पुस ११ गते मात्रै ३५ अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल गरेको थियो । शनिबारसम्म बैंक तथा वित्तीय संस्थाले ६० खर्ब ३४ अर्ब निक्षेप संकलन गरी ५० खर्ब ७ अर्ब लगानी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *