पीडित भएकी ‘गौशाला २६’ भन्दै सामाजिक सञ्जालमा तस्बिर राखेपछि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई निलम्बन गरेको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्वीर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुक पेजमा लेखिएको छ ।

सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं । सापकोटाले गौशला-२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल (X) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए।

चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए ।

साइबर ब्यूरोले थाल्यो छानबिन

सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले समेत अनुसन्धान थालेको छ । ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ ।

‘विद्युतीय माध्यमबाट ती तस्वीरहरु सार्वजनिक गराइएकाले ब्यूरोले यो विषयलाई नोटिसमा लिएको हो’, एसपी रायले भने । जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । लामिछाने बलात्कार मुद्दामा दोषी ठहर पछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

यसबारेमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ भने उता राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई निलम्बन समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *