महामन्त्री थापाको सांगठनिक प्रतिवेदन: आउँदा दिनमा चुनावमा एक्लै लड्ने, संकल्प गर्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठकमा आज भने विभिन्न प्रतिवेदन पेस गरिने छ ।

जारी बैठकमा नेपाली कांग्रेसले महासमिति बैठकमा आउँदाका दिनमा चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ । सहमहामन्त्रीहरु भीष्मराज आङ्दावे, महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डे, जीवन परियारका साथै गोपालमान श्रेष्ठ, कृष्ण सिटौला लगायत लगायतका नेताहरुले एक्लै चुनाव लड्छु भनेर जानसक्नु पर्ने मत राखे । ‘महासमितिमा आएका नेता कार्यकर्ताको आत्मविश्वास भर्नु पर्दैन भनेर नेताहरुले प्रश्न गरेपछि सभापति सहमत हुनुभयो’ एक नेताले भने, ‘नेताहरुको दबावसँगै बालुवाटारमा भएको भेटले पनि काम गरेको हुनसक्छ ।’ बूढानीलकण्ठमा भइरहेको छलफल छाडेर देउवा र उपसभापति पूर्णबहादुर खड्का केहीबेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

अब महामन्त्रीको प्रतिवेदनमा यसभन्दा अगाडिको निर्वाचनको गठबन्धन बाध्यताको उपज थियो भनिने छ । ‘नेपाली कांग्रेस दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने छौं । र, हाम्रा मतदातालाई हाम्रो चुनाव चिन्ह रुखमा मात्र मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’ प्रतिवेदनमा उल्लेख हुनेछ ।

सहमहामन्त्री उपाध्यायले पनि सबै विषयमा सहमति जुटेको सञ्चारमाध्यमहरुलाई जानकारी दिइन् । उनले भनिन्, ‘विवादको खास कुरा थिएन । जुन गठबन्धनबाट हामी चुनाव लड्यो, त्यसमा तिक्तता नहोस् भनी त्यस्ता शब्द नराख्ने कुरा भएको छ ।’

महामन्त्री थापाले सांठगनिक प्रतिवेदनमा रहेको आउँदा चुनावहरुमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो । लगातार छलफल गर्दा पनि सहमति नजुटेपछि सभापति देउवाले उद्घाटनका क्रममा गठबन्धनबारे अहिले निर्णय नगर्ने मत राखेका थिए । महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदनमा भने पवित्र उद्देश्यले गठबन्धन गरिएपनि आगामी चुनाव एक्लै लड्नुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन् ।

महामन्त्री थापाले वर्तमान संसदको अवधिभर संयुक्त सरकारमा सहभागी हुने, तर आगामी चुनावबाट कांग्रेसले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेर जानुपर्ने प्रस्ताव गरेका थिए । सभापति देउवाले देशको सवैभन्दा ठूलो शक्ति कांग्रेस रहेकाले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने तर्क गरेका थिए । त्यसलाई देउवाले पस्थिति हेरेर राजनीतिक निर्णय लिइनुपर्ने निष्कर्ष सुनाएका थिए ।  पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले महामन्त्री थापालाई दबाब दिरहेका थिए ।

कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको थियो । आज विहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *