एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाईं सम्बोधन गर्दै देउवाले ओली सरकारमा हुँदा गरेको अत्याचारका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् ।
‘एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधिसभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको हो,’ देउवाले भने । उनले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने दाबी पनि गरे । ‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछ,’ उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवा र दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुनेवाला छ ।’
उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरे । उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाअन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।
बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने पनि बताए । बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाले बताए ।