सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न सांसदको माग
काठमाडौँ । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उनहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गरे ।
सांसद राजेन्द्रकुमार केसी : सहकारीपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुन तस्करीका आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
सांसद सञ्जयकुमार गौतम : सुन तस्करीका आरोपितलाई कारबाही गर्न सरकार समक्ष माग गरे ।
सांसद सूर्यबहादुर थापा क्षेत्री : सुनको अबैध पैठारी तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी कार्यान्वयन गर्न सरकार समक्ष माग गरे ।
सांसद रामप्रकाश चौधरी : सुन तस्करी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताए ।
सांसद प्रेम सुवाल: सुन तस्करीमा संलग्नलाई शीघ्र कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार गृहमन्त्री रवि लामेछानेलाई बुझाएको थियो । उक्त प्रतिवेदन लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए ।