लक्ष्मी सन्राइज बैंकको अगुवाइमा जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता
काठमाडौं । लक्ष्मी सन्राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर वाग्मती हाइड्रोपावरबीच ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो वाग्मती जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । ललितपुर र मकवानपुर जिल्लास्थित वाग्मती नदीमा निर्माण हुने उक्त आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । सो आयोजनाको कुल लागत ९ अर्ब २८ करोड रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सुपर वाग्मती हाइड्रोपावरले २०७८ माघ १२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएका थिए ।
पत्र लिई २०८० असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि र एएनके कन्स्ट्रकसन रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदकरसंस्थापकहरूको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सन्राइज बैंकको कर्जा प्रतिबद्धता तीन अर्ब चार करोड रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा एभरेष्ट बैंकको दुई अर्ब पाँच करोड तथा सिटिजन्स बैंक इन्टरनेशनलको एक अर्ब लगानी रहेको छ । सो आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने बताइएको छ ।