सीटीईभीटीले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने भएको छ । सीटीईभीटीले विभिन्न कलकारखानामा लामो समयदेखि काम गर्दै आएर उक्त काममा दक्ष भएकालाई प्रशिक्षकको समकक्षता दिने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको १९९ औँ परिषद् बैठकले उक्त निर्णय गरेको हो । कार्यस्थलको सिकाइमा आधारित तालिमलाई संस्थागत गर्न उद्योगधन्दा तथा कलकारखानामा काम गर्न सक्षम र दक्ष प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिइएको छ । त्यसका लागि तालिम विकास महाशाखाका निर्देशकको नेतृत्वमा ‘औद्योगिक प्रशिक्षार्थी विनियमावली’ निर्माण गर्न कार्यदल गठन गरिएको छ । यो विनियमावलीको निर्माण पछि उद्योग क्षेत्रको अनुभव भएका व्यक्तिलाई प्रशिक्षकको रुपमा समकक्षता दिइने निर्णय गरेको हो । परिषद् श्रम बजारको माग अनुसारका कार्यक्रमलाई प्राथमिकता दिने समेत निर्णय गरेको छ । कार्यक्रम सम्बन्धनको क्रममा श्रम बजारमा अत्यधिक माग भएका कार्यक्रमहरूलाई (Shadow Teachers for Special Needs, Short IT Courses on Digital Marketting, Design and Social Media Marketing ) लगायतका प्राथमिकता राख्ने निर्णय गरेको हो । यसका लागि पाठ्यक्रम निर्माण नभएको अवस्थामा परिषद्मा उपलब्ध स्रोतको परिचालन गर्ने र त्यसक्रममा आवश्यक पर्ने थप स्रोतका लागि अन्य निकायहरूसँग समन्वय गर्ने निर्णय परिषद् बैठकले गरेको हो । त्यस्तै परिषदबाट सञ्चालन हुने प्रवेश परीक्षा, परीक्षा सञ्चालन र सम्बन्धन प्रक्रियाको समय तालिका (Academic Calender ) राष्ट्रिय चिकित्सा शिक्षा आयोग र अन्य निकायसँग तालमेल हुने गरी निर्माण गरी प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रम सम्बन्धनका विषयमा विनियमावली संशोधन गरेर मात्रै निर्णय गर्ने भएको छ । विनियमावली निर्माणका लागि स्तर निर्धारण महाशाखाका निर्देशकको नेतृत्वमा ‘कार्यक्रम सम्बन्धन विनियमावली निर्माण कार्यदल’ गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदललाई एक महिनाको समय दिइएको छ । सम्बन्धनका प्रक्रियामा रहेका सबै निवेदनको अवस्था पारदर्शीताका लागि वेबसाइटमा राख्ने समेत निर्णय गरेको छ । हालसम्म सम्बन्धनका विषयमा गरिएका अध्ययन प्रतिवेदन परिषद्का पदाधिकारीलाई उपलब्ध गराउने पनि निर्णय भएको छ । सम्बन्धनका विषयमा प्रक्रियामा रहेका संस्थाको यकिन विवरण र सम्बन्धन प्रक्रियाको ढाँचा (Affiliation Process Flow Chart ) समेत वेबसाइटमा राखिने छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय कार्य टोलीको म्याद २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ । परिषद्को दरबन्दी व्यवस्थापन गर्न तथा स्वीकृत दरबन्दीहरूमा समयसापेक्ष र समयानुकूल व्यवस्थापन गर्न एक कार्यदल गठन गरिएको छ । शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा संगठनात्मक तथा व्यवस्थापन सर्भेक्षण कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *