मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा नगदेशको प्रांगणमा वः फेस्टिभल

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए। मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको वः फेस्टिभल एवम् ग्रीन भेजिटेबल एक्सपो २०२४ मा उपत्यकाका १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समूह लगायतका स्टल थिए। मध्यपुरथिमि नगरपालिकाको मध्यभाग अर्थात् वडा नं ७ नगदेशको प्रांगणमा मेलाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले यस मेलाले मध्यपुरको मात्र नभई भक्तपुरकै पर्यटन प्रवर्द्धन गर्ने बताए । यस्तै, मेला अवलोकनपश्चात प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का उपाध्यक्ष सुमन पाण्डेले बन्दीपुरको पर्यटनको मोडलमा मध्यपुर थिमिको पर्यटनको विकास गर्नुपर्ने बताए। मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिएको थियो। मेलामा वःका विभिन्न परिकार उपलब्ध थिए। अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ।

स्टलमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौ लगायत नेवारी खानाका परिकारहरू राखिएका थिए । मयुर नाच, रोपाइँ जात्रा, सात कालीको नाच, कुमारी नाच लगायत स्थानीय सांस्कृतिक नृत्यहरू समेत मेलामा देखाइएको फेस्टिभल संयोजक बिक्रम बाडेले बताए। मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो। मेलाका लागि नगरपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ। साथै व्यवसायीहरूले स्वस्फूर्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरी कुल आठ लाख रुपैयाँ लागतमा फेस्टिभल गरिएको बाडेले बताए। केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः,लापी वः, खें वः ख्वल्चा वः, भु वःरतःपा वः, सू वः,बारा वः का नामले पनि चिनिन्छ। बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । समितिका अनुसार कतिपय वः खानाका परिकारका रूपमा लिइँदैन। लिच्छवि र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो। मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के कति महत्वबारे पनि जानकारी दिइएको थियो। वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरूले कार्यपत्र समेत प्रस्तुत गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *